रुपनी जि.एम – “तीन वटा मसिना नानीबाबुहरु छोडेर आको छु । के गर्दैछन् ? थाहा छैन । परिक्षा दिए कि दिएनन् ?” यो भनाई हो क्यान्सरले ग्रस्त अस्पतालको बेडबाट आफ्ना बालबच्चाहरुको सम्झनामा छटपाटाई रहेकी आमा चन्द्रकलाको । जब उनलाई भेट्न भक्तपुर क्यान्सर अस्पताल पुगें मसंगको पहिलो वाक्य नै यही थियो चन्द्रकलाको । उमेरले ४५ लागेकी चन्द्रकला पाँचथर याङवक गाउँपालिका वडा नं. २ धिमाले गाउँकी हुन् । उनी यतिबेला भक्तपुर क्यान्सर अस्पतालको १३८ नं. बेडमा स्तन क्यान्सरको पीडामा छटपटाई रहेकी छन् ।

आज भन्दा ३ वर्ष पहिले नै कान्छि छोरीले दुध चुसिरहंदा दुधको मुन्टामा टोकिदिएको बताउँछिन् चन्द्रकला । छोरीले दुधको मुन्टा टोकेकै निहुँमा अहिले उनको देव्रे दुधमा क्यान्सर भएको छ । शुरुवाती दिनमा सामान्य दुखाईलाई त्यति मतलब नगरेको र अलि अलिको दुखाईलाई स्वास्थ्य चौकिको औषधि खाएरै निको पारि बसेको बताउँछिन् उनी ।

२ छोरी र १ छोरा गरी ३ सन्तानकी आमा चन्द्रकलाको आर्थिक अवस्था निकै नै नाजुक भएको उनी स्वयम र उनका श्रीमान बेन बहादुर बेघा लिम्बु बताउँछन् । उनका श्रीमान बेनका अनुसार अलिअलि भएको जग्गा जमिन साहुकोमा बन्धकमा छ । “बैंक अकाउन्टको त कुरै नगरौं । श्रीमतिलाई अस्पतालसम्म ल्याउनकालागि बेघा समाज र भतिज ख्यामको साहायताका ल्याएको छु ।” बेन भन्छन्, “मसंग साथमा १ रुपैंया पनि छैन जे जति छ त्यो सबै सहयोगकै भरमा छ र उपचार रकम पनि सहयोगकै भरमा हुनेछ ।”

हुने हार दैव नटार भनेझैं वास्तवमा जे हुनु छ त्यो भएरै छाडछ । चन्द्रकला र बेनको जीवनमा पनि यो भनाईले सार्थकता पायो । चन्द्रकला बेनको दोश्रो श्रीमती हुन् । पहिलो श्रीमतीको मृत्यु पछि बेनले चन्द्रकलालाई बिबाह गरेका हुन् । “श्रीमतीले मात्रै छोडेर गए त किन पो बिहे गर्ने थिएँ र उनीबाट जन्मिएका सबै सन्तानले पनि छोडेर गएको हुनाले मैले दोश्रो बिहे गरेको हुँ ।” भावुक हुँदै बेन अगाडी भन्छन्,“उनीहरुकै काज क्रिया गर्दा लागेको खर्चमा मेरो जायजथा सबै साहुकोमा बन्धक छ ।”

भनिन्छ जे हुन्छ राम्रैकालागि हुन्छ तर बेन र उनको जीवनमा जे भयो त्यो राम्रोकालागि कहिल्यै भएन । पहिलो श्रीमती र सन्ताको मृत्य पश्चात उनले जीवन एक्लै नकट्ने ठानेर चन्द्रकलालाई बिहे गरे । चन्द्रकलालाई बिहे गरेपछि श्रीमती र छोराछोरी त उनले पाए तर सुख भने कहिल्यै पाएनन् । साँझ बिहानको छाक टार्नकोलागि मज्दुरी गर्न बाहेक अरु कुनै उपाए नभएको बेनको परिवारमा क्यान्सर जस्तो डरलाग्दो रोगले बास गरि दिंदा उनीहरु कसरी बाँचेका छन् त्यो उनीहरु नै जान्दछन् ।

बेनले हामीसंग मात्र हैन उनलाई भेट्न जाने सबैसंग आफ्नो श्रीमतीको उपचार खर्चकालागि हात जोड्दै आर्थिक सहयोग माग्न पछि पर्दैनन् । दुखेसो पोख्दै बेनले आफ्ना कुरा यसरी सुनाए,“घर जग्गा साहुकोमा बन्धक छ । बालबच्चा घरमा अलपत्रै छाडि आएका छौं । क्रणले टुप्पि नाघ्यो । श्रीसम्पत्ति भनेकै मेरो श्रीमती र छोराछोरी हुन् । मेरो श्रीमतीलाई केही भयो भने परिवार बिजोगमा पर्छ । मेरो श्रीमतीलाई बचाई दिनुहोस् ।” यीनै वाक्याशंहरु प्रयोग गर्दै बेनले श्रीमती बचाईदिन अपिल गरेका थिए ।

जब चन्द्रकलाको क्यान्सर लागेको स्तनको फोटो मेरो म्यासेन्जरमा आई पुग्यो त्यो फोटो हेर्दा मेरो मुटु नै कापेको थियो । क्यान्सर लागेको उनको स्तन हेर्ने त्यो साहास मसंग नभएरै धेरै पटक आखाँ चिम्लदै र खोल्दै उनको त्यो पीप र रगत बगेको स्तनको फोटो हेरेकी थिएँ मैले । हेर्दा मात्रै त मलाई असैह्य पीडा भएको थियो भने भोग्ने उनलाई कति पीडा सहनु परेको छ होला त्यसको अनुमान म सजिलै लगाउन सक्छु ।

एकातिर क्यान्सरले थला परेर अर्काको भरमा अस्पतालको बेडमा पल्टनुको पीडा । अर्कोतिर घरमा साना नानीहरुलाई एक्लै छोडेर आउनुको पीडा । यो दुवै पीडाले चन्द्रकलालाई झनै थला पारेको छ । मसंगको कुराकानीको दौडानमा उनले केवल १÷२ पटक आखाँ उघारेकी थिईन् । प्राय कुराकानीकै क्रममा पीडाले निकै नै दुःख दिँदा उनले आखाँ चिम्लदै र निधारमा गाँठो पार्दै जीवन र मृत्युको कथा छटपटाउँदै भए पनि मलाई सुनाएकि थिईन् ।

उनको छटपटाईलाई हेर्दा मलाई दुखेको थियो भने उनलाई कति दुखेको हुँदो हो त्यस्को महसुस मैले कल्पनामा पनि गर्न सक्दिन । त्यस्तो पिडामा पनि चन्द्रकलाले आफ्ना बालबच्चालाई सम्झन छोडिनन् । रुँदारुदै भक्कानीएको आवाजलाई गला भित्र दबाउँदै गहभरि आँशु पारेर सुनाईन् मन भत्रिका कुरा,“हिंड्ने बेलामा नानीहरुले आमा कहिले फर्किन्छौ भनेर सोध्दै थिए, मैले भने २÷३ दिनमै फर्किन्छु । राम्ररी बस्नु ल ! परिक्षा नछुटाउनु ।” दबिएको स्वरलाई दबाएरै लामो सास फेरेर सुस्केरा हाल्दै भनिन्,“खै कसो गरि बसेका छन् । आउँदा दिदीको जिम्मा लाएकी थिएँ ।”

आमाको मायालाई संसारको कुनै पनि कुराले जित्न सक्दैन भनेको सायद यही होला । क्यान्सर जस्तो डरलाग्दो रोगले सही नसक्नु पीडा दिंदा पनि अस्पतालको बेडमा छोराछोरीको पीडामा बेसी छट्पटाई रहेकी छन् चन्द्रकला । जीवन र मृत्युको दोधारमा छिन् चन्द्रकला । आफ्नो उपचारकालागि उनीसंग पैसा छैन रपनि छोराछोरीको पढाई र भविष्यप्रति सुर्ताउँदै छिन् चन्द्रकला ।

पीडालाई लुकाएर हाँस्ने मान्छे संसारमा बिरलै पाईन्छन् भन्ने सुनेकी थिएँ । त्यो मैले चन्द्रकलाको विशेषतामा भेटें । देव्रे दुधबाट पिप र रगत बगेर उनको देव्रे पाटो पुरै भिज्दा पनि उनी हाँस्दै थिईन् अनि भन्दै थिईन्,“रोएर पनि के गर्नु ? कति रुनु ? रोएर केही हुँने रहेनछ । मलाई त मेरो भन्दा पनि छोराछोरीकै चिन्ताले मारिरहेको छ ।”

त्यस्तो दुखाईमा पनि उनी हाँसिरहेको देख्दा म भन्न सक्छु उनको आत्माबलले उनलाई चाँडै नै निको बनाउने छ र उनी छिट्टै नै घर फर्किएर छोराछोरीलाई अंगालो हाल्नेछिन् । सलाम छ चन्द्रकला तपाँईको त्यो अदम्य साहासलाई । यही लेखबाट यो लेखिकाको अपिल छ ज–जस्ले यो लेख पढ्नु हुनेछ तपाँई सबैले आफु सक्दो चन्द्रकलालाई उपचार खर्चकालागि आर्थिक सहयोग गरिदिनु होला ।

Comments