अर्थ अभावका कारण बिजुलीको लाइन जोड्न नसकेका विपन्न परिवारले पनि अब बिजुली बाल्न पाउने भएका छन् ।सरकारी नीतिअनुसार नेपाल विद्युत् वितरण केन्द्र डडेल्धुरा शाखा कार्यालयले जिल्लाका ४२ जना अतिविपन्न परिवारलाई निःशुल्क मिटरबक्स वितरण गरेकाले वर्षौंदेखिको उज्यालो घर बनाउने सपना पूरा भएको विपन्न परिवारका सदस्यले बताए ।

छ घण्टा बस यात्रा गरेर उक्त केन्द्र आइपुग्नुभएका आलिताल गाउँपालिका वडा नं ६ का चन्द्रबहादुर लोहार निःशुल्क मिटरबक्स पाउँदा खुशी हुनुभयो । यसैगरी बल्ल अब बिजुली बाल्न पाइने भइयो भन्दै खुशी हुनुभएका अमरगढी नगरपालिका–८ का बहादुर भुलले पनि आर्थिक अभावकै कारण यसअघि मिटर किन्न नसक्दा अँध्यारोमै गुजारा चलाउन बाध्य हुनुभएको थियो । मिटर बक्स किन्नका लागि रु दुई हजार ५०० सम्म जुटाउन नसक्नुभएका भुलले निःशुल्करुपमा विद्युत् मिटरबक्स पाएपछि घर नै उज्यालो हुने आशामा परिवार पनि दङ्ग भएका छन् भन्नुभयो ।

जिल्लाको अमरगढी नगरपालिका, गन्यापधुरा र आलिताल गाउँपालिकाका ४२ अति विपन्न परिवारलाई मिटरबक्स वितरण गरिएको थियो । स्थानीय तहले छनोट गरेका विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर बक्स दिइने भएकाले सातवटै स्थानीय तहलाई सिफारिशका लागि पत्राचार गरिसकेको र माग आएमा अरुलाई पनि निःशुल्क मिटरबक्स दिइने वितरण केन्द्र प्रमुख ईश्वरकुमार श्रेष्ठले बताउनुभयो । अति विपन्न परिवारका साथै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका धार्मिक संस्थालाई पनि निःशुल्क मिटरबक्स दिइएको छ ।

Comments