धरान, २६ असार । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट एक नवजात शिशु चोरी भएको छ । अस्पताको स्त्री तथा प्रसूति विभागबाट नवजात शिशु चोरी भएको हो। शिशु चोरीको अभियोगमा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ।

प्रहरीले लिला बिक र उनकी भाउजू मिला लिम्बुलाई शिशु चोरी गरेको अभियोगमा पक्राउ गरेको हो। प्रहरीका अनुसार बुधबार राती बबिता मेहताको छोरा चोरी भएको थियो । प्रतिष्ठानको प्रसूति विभागबाटै शिशु चोरी भएपछि खोजतलास गर्दा दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

भोक्राहा गाउँपालिका १ की मेहताले विभागबाट शिशु हराएको भन्दै हल्ला गरेपछि प्रहरी घटनास्थल पुगेर बच्चाको खोजी सुरु भएको थियो। नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि विभागमा राखेर उपचार भइरहेको थियो।

प्रहरीका अनुसार बच्चा चारी गर्नेले कुरुवाको नाटक गरेर बसेका थिए। चोरी गरिएको नवजात शिशु प्रतिष्ठानबाट करिब ५ किलोमिटर टाढा बगरकोटमा प्रहरीले फेला पारेका थिए।

Comments