तत्कालिन मधेसी जनअधिकार फोरमसंग पार्टी एकता गरेपछि डा बाबुराम भट्टराईको साथ छोड्ने नेताको संख्या बढ्न थालेको छ । तत्कालिन नयाँ शक्ति पार्टीका शिर्षस्थ नेताहरुले उनको साथ छोडेर नेकपामा प्रवेश गरेका छन् । दुई पार्टी मिलेर बनेको समाजवादी पार्टीमा अटाउन नसकेकाहरु अहिले भटाभट पार्टी छा्ड्ने क्रममा छन् । त्यसरी छुटेकाहरु अहिले नेकपामा प्रवेश गरिरहेका छन् । आफ्नो साथ छोडेर नेकपामा जानेहरुलाई समाजवादी पार्टीका अध्यक्ष भट्टराईले धमिराको संज्ञा दिएका छन्।

पूर्व नयाँ शक्तिका उपल्लो तहका नेताहरूले नै भटाभट पार्टी छाड्न थालेपछि एक्लिएका बाबुरामले सामाजिक सञ्जालमा आफ्नो प्रतिकृया सार्वजनिक गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि रुष्ट भट्टराईले समाजवादी पार्टीमा घुर्की देखाइ पद लिएको आरोप लगाएका छन्। उनले नेकपामा जानकै लागि केही नेताहरुले आफुसंग वार्गेनिगं गरेको बताएका छन् । समाजवादी पार्टीमा पद लिएपछि त्यसैको आडमा अलगअलग बार्गेन गरेर राम्रै लाभ लिएको उनको प्रतिकृया छ ।

समाजिक सञ्जालमा भट्टराई लेख्छन्, ‘नेकपा पस्न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षद्वयसंग अलगअलग बार्गेनिङ गरेर राम्रै लाभ लिन लागेछन।’ ुजता काफल पाक्यो उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ गएको उल्लेख गर्दै उनले भने, ‘डनहरू, व्यापारीहरू, क्रान्तिबाट थाकेकाहरू सत्ताधारी पार्टी पसेर रस चुस्न होडवाजी गर्दैछन्।’

समाजवादी पार्टीको गण्डकी प्रदेश उपाध्यक्ष भएका गुणाखर बस्यालले पनि उनको साथ छोडेपछि भट्टराई रुष्ट भएका छन् । २ दिन पहिले मात्र पोखरामा भएको नयाँ शक्ति र सघीयं समाजवादी फोरमको प्रदेशस्तरीय समायोजन भेलामा बस्यालले उपाध्यक्ष पद ग्रहण गरेका थिए। भट्टराई लेख्छन्, ‘सबैका सामुन्ने समाजवादी विचार र पार्टीप्रति बफादारीको सपथग्रहण गर्ने र प्रदेश उपाध्यक्ष पद हत्याउने, तुरून्तै अपराधिक शैलीमा भूमिगत हुने र अर्को पार्टीमा प्रवेश गर्ने ?’

युद्धकालका भट्टराईका सारथी अर्का नेता देबेन्द्र पराजुलीले पनि उनलाई छाडेका छन्। अखिल क्रान्तीकारीको दुई कार्यकाल अध्यक्ष बनेका पराजुली नयाँ शक्ति र फोरमको एकताप्रति सन्तुष्ट थिएनन्। पराजुलीको श्रीमती समेत रहेकी पूर्वमन्त्री कल्पना धमला पनि नेकपा प्रवेश गरेकी छन्। साथै, महिला नेतृ मनु चापागाईं पनि सत्तारुढ दलमा प्रवेश गरिन्।

Comments