अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भए पनि मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दशक यताकै शक्तिशाली मानिएको छ। क्यालिफोर्नियाको गभर्नरको आपतकालीन कार्यालयका प्रवक्ता ब्र्याड एलेक्जाण्डरले रिजक्रेस्ट क्षेत्रमा खोज तथा उद्धारका टोली खटाइएको बताए। उनले फेरि यसको परकम्प आउन सक्ने भन्दै सचेत रहनु सुझाव दिएका छन् ।भूगर्वविद् प्राध्यापक जन रन्डलले बीबीसीलाई बताएअनुसार केन्द्रविन्दु रहेको रिजक्रेस्टमा उल्लेखनीय क्षति भएको छ । बाक्लो आवादी रहेको क्षेत्रभन्दा पर केन्द्रविन्दु हुँदा क्षति कम भएको उनको भनाइ छ ।

Comments