घण्टे(सिन्धुली)– हरिहरपुरगढी गाँउपालिका–३ घण्टेकी फुलमाया राईको १६ वर्षको उमेरमा सोही वडाकै चन्द्रबहादुर राईसँग विवाह भयो। गरिब परिवारमा विवाह गरेकी राईको दिनचर्या संघर्षपुर्ण थियो। विवाह भएको तीन वर्ष नपुग्दै बच्चा जन्मियो। पहिलो सन्तानको रुपमा छोरीको जन्म भयो।

गरिब अशिक्षित परिवार भएकाले छोरी जन्मिदा घरपरिवारमा खासै उत्साह छाएन। फुलमायाका श्रीमान चन्द्रबहादुर पनि घरको एक्ला छोरा थिए। आफ्नो पनि छोरी हुँदा बंश कायम रहँदैन भन्ने उनका श्रीमान् चन्द्रलाई पनि लाग्यो। त्यसपछि थप बच्चा जन्माउन सुरुवात भयो। पहिलो सन्तान जन्मिएको डेढ वर्ष पुरा नहुँदै दोस्रो सन्तान जन्मियो, फेरी छोरीनै जन्मियो। दोस्रो सन्तान छोरा जन्मिने आश उक्त परिवारमा ठुलो थियो। तर दोस्रो सन्तानमा पनि छोरीनै जन्मिएपछि घरमा उत्साह भन्दा निराशा बढ्यो। सासु ससुरा र श्रीमानले छोरा नजन्माउँदा वंश सकिने भन्दै निरन्तर सन्तान जन्माउन बाध्यता श्रृजना गरे। फुलमाया आफैलाई पनि छोरा नहुँदा अभागी भएको महसुस भयो।

प्रत्येक बच्चा दुई वर्ष नपुग्दै अर्को बच्चा जन्माउने क्रम निरन्तर चल्यो सबै छोरीकै मात्र जन्म भयो। छोराकै आशमा फुलमायाले आठ सन्तानको जन्म दिइन्। सबै छोरी जन्मिए। चार साना छोरीहरु वरिपरि राखेर सानो फुसको छानो भएको घरको आँगनमा भेटिएकी फुलमायाले हाँस्दै छोराकै आशमा आठ छोरी जन्मिएको बताइन्। हाम्रो त भाग्यमै खोट रहेछ, एउटा पनि छोरा जन्मिएनन्, उनले नागरिक न्यूजसँग भनिन्, भगवानले पनि हामी गरिबमाथि दया गरेन।

दैनिक गुजारा चलाउनसमेत हम्मेहम्मे परिवारमा अशिक्षाका कारण छोराकै आशमा आठ छोरी जन्मिँदा परिवारमा ठुलै बोझ थपिएको छ। आठ छोरीमध्ये तीन छोरीले विवाह गरिसके, उनले भनिन्, १५ देखि १८ वर्षको उमेरै तीन छोरीले आफैले मन पराएर विवाह गरेर गइसके। २०३४ सालमा जन्मिएकी फुलमायाको नाति र नातिनी जन्मिसकेका छन्। हाम्रो पो छोरा भएन त छोरीको त छोरानै जन्मिएको छ, उनी अलि हँसिली हुँदै भनिन्। छोराकै आशमा आठ छोरी जन्माएकी फुलमायाको श्रीमान श्रीमतीलाई नै जबसम्म छोरा हुँदैन तबसम्म सन्तान जन्माउन नरोक्ने निधो गरेका थिए। तर कान्छी छोरी (आठौं सन्तान) सहजै जन्मिएन। २०७४ साल साउन १ गते निरन्तर पाँच दिनसम्म प्रसव पीडा खेपेर अन्त्यमा सहज नजन्मिएपछि अप्रेशन गरेर बच्चा निकालियो।

बच्चा निकाल्न अप्रेशन गरेकै समयमा चिकित्सकहरुले स्थायी बन्ध्याकरण गरिदिए। अब त सन्तान हुँदैन, छोरा हुने कुरै भएन, फुलमायाले फेरि दोहो-याइन्, भगवान्ले पनि हामीलाई ठग्यो। जायजेथाको नाममा केहि नभएका उनीहरु सुकुम्बासी जीवन विताइरहेका छन्। आठ छोरीमध्य चारजना छोरी भने उनको घरमा पुग्दा थिएनन्। तीन छोरी विवाह गरेर गइसकेको र एक छोरी खेल्नका लागि साथीहरुसँग बाहिर निस्किएको फुलमायाले बताइन्। हाल उनको साथमा पाँच छोरी, आफुहरु दुई जना र सासु ससुरालाई खान पुग्ने कमाउन धौ धौ छ।

दैनिक श्रम गर्छौ, कहिलेकाँही केहि रकम बँच्छ कहिलेकाँही खान पनि पुग्दैन, फुलमाया र चन्द्रबहादुरले एकै स्वरमा भने। ग्रामीण बस्तिमा शिक्षा र चेतनाको अभाव मात्रै छैन्। उचित सल्लाह सुझाव दिने स्वास्थ्यकर्मीसमेत नहुँदा छोराकै आशमा सन्तान जन्माइरहेका धेरै महिला भएको स्थानीय बताउँछन्। तिनै मध्येकी एक फुलमाया हुन्। हामीलाई परिवार नियोजन गर्नुपर्छ, परिवार नियोजनका साधन हुन्छन्, भन्ने खासै थाहा छैन, फुलमायाले भनिन्, ‘छोरा जन्मिएदेखि समाजको नजरमा अपुत्रो हुनु पर्दैनथ्यो भन्ने मात्रै लाग्यो। फुलमायाका श्रीमान् चन्द्रबहादुर साथिसंगीले समेत छोरा नभएको भनेर हेपेर बोल्ने गरेकाले छोराको कोशिस गरेको बताउँछन्।

एक पटकमा छोरी जन्मियो त के भयो, फेरि छोरा जन्मिछ नि भनेर उक्साउँछन्, उनले भने ‘घरका बुढा भएका बुबाआमा पनि छोरा चाहिन्छ भन्छन्, ‘त्यसैमा लाग्दा आठ छोरीको जन्म भयो। उनले सन्तानको पालनपोषण गर्नका लागि स्थानीय सरकारले केहि सिपयुक्त तालिम आफुलाई दिए काम गरेर खान सकिने बताए। ‘जग्गा जमिन केहि छैन, हातमा सिप छैन, कसैले केहि तालिम दिए गरिखाने मेलो हुन्थ्यो,’ उनले भने। नागरिक दैनिकमा खबर छ

Comments