काठमाडौं–सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् ।

सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ ।ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरूका लागि कोलोनी नै तयार हुने विभागले जनाएको छ । नयाँ पत्रिकामा खबर छापिएको छ।

सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइनेछ । प्रत्येक ब्लकमा दुईवटा भवन हुने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए । ‘प्रत्येक ब्लकमा दुई–दुईवटा भवन बनाइनेछ । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ,’ तुलाधरले भने । १४ भवन रहेको कोलोनी सुविधासम्पन्न हुनेछ ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बन्ने सबै भवन साढे दुई तलाका हुनेछन् । विभागका भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरका अनुसार भुइँतलामा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल हुनेछ । त्यस्तै, पहिलो तलामा बैठक कक्ष, योगकोठा, मुख्यमन्त्री वा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा र दोस्रो तलामा भान्साकोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजाकोठा हुनेछन् ।

आवास निर्माण नसकिँदासम्म प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सरकारले अपार्टमेन्ट भाडामा लिने भएको छ । खुमलटारस्थित डाउनटाउन अपार्टमेन्टमा १५ वटा फ्ल्याट लिने सम्झौता गरिसकेको सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले बताए । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि दुई बेडरुम, बैठक कक्ष र भान्सा भएका १४ र एउटा थप फ्ल्याट लिन लागिएको विभागले जनाएको छ । प्रत्येक फ्ल्याटको भाडा मासिक ५५ हजारका दरले महिनाको आठ लाख २५ हजार रुपैयाँमा सम्झौता गरिएको छ ।

Comments