‘लेखनाथ प्रतिभा पुरस्कार’ बालकृष्ण त्रिपाठीलाई - Etajakhabar

पोखरा, १५ पुस-
कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित ‘लेखनाथ प्रतिभा पुरस्कार’ बालकृष्ण त्रिपाठीलाई आज प्रदान गरिएको छ ।

त्रिवि केन्द्रीय नेपाली विभागबाट स्नातकोत्तर परीक्षामा सर्वोत्कृष्ट त्रिपाठीलाई रु १५ हजार राशिसहित सो पुरस्कार दिइएको हो । नेपाली शिक्षा परिषद्ले कविशिरोमणि पौड्यालको १३३ औं जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले पुरस्कार प्रदान गर्दै पौड्यालको छन्द कविताको प्रेरणाले आफूले कविता लेख्न सुरु गरेको बताए ।
परिषद्का सदस्य सचिव रमा शर्माले परिषद्बाट विभिन्न समयमा गरिएका गतिविधिबारे जानकारी गराए । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले नेपाली कवितामा छन्दको प्रयोग गरी कविशिरोमणिले त्यसको दायरालाई फराकिलो बनाएको बताए ।

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको स्मरणमा श्रद्धाञ्जलि तथा मौनधारण समेत गरिएको उक्त कार्यक्रममा प्रल्हाद पोखरेल, मेनका पोखरेल र बुनु लामिछानेले कविता वाचन गरेका थिए । यसअघि सोही परिसरमा कविशिरोमणिको प्रतिमामा माल्यार्पण गरिएको थियो ।
कविशिरोमणिको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौंअर्चलेमा भएको थियो । विसं २००८ असार २९ गते पौडयाललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पदवी र मासिक रु दुई सय आजीवन भत्ता प्रदान गरिएको थियो ।

विसं २०११ मा पौडयालकै शुभजन्मोत्सवका उपलक्ष्यमा काठमाडौँमा पौड्यालको रथयात्रा गरिएको थियो । पौड्यालका दुई दर्जन जति कृति प्रकाशित छन् । पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो । विसं २०२२ को शिवरात्रि अर्थात् फागुन ७ गते पौड्यालको देहावसान भएको थियो ।

तपाईको प्रतिक्रिया