पहिले अर्काको घरमा कमैया बसेर कष्टकर जीविका चलाएकी ठगनी अरुलाई रोजगारी दिने भईन् – Etajakhabar

धनगढी, २८ पुस-
अर्काको घरमा कमैया बसेर विगतमा कष्टकर जीविका चलाएकी ठगनी चौधरी अहिले भने अरुलाई रोजगारी दिने हैसियत राख्नुहुन्छ ।


कमैया मुक्तिको घोषणा पछि भूमिसुधार कार्यालयले सञ्चालन गरेको सीपमूलक तालिमको व्यावहारिक उपयोग गरेकै कारण अहिले उहाँ अरुलाई रोजगारी दिने हैसियतमा पुग्नुभएको हो । “सुरुमा भूमिसुधार कार्यालयले दिएको सिलाइकटाइ तालिम सिके, केही वर्षपछि अरुलाई पनि यो तालिम दिने प्रशिक्षकमा नियुक्त भए,” उहाँले भन्नुभयो ।

अहिले आफ्नै व्यवसाय चलाएर मासिक रु २५÷३० हजार कमाइ गर्ने गरेको उहाँको भनाइ छ । उहाँले दिएको सिलाइकटाइसम्बन्धी तालिमबाट घरधन्दामा मात्रै सीमित हुँदै आएका पूर्वकमैयाका युवती र महिला यतिबेला नगद कमाउन थालका छन् ।

स्थानीय बजारमा सञ्चालनमा रहेको उहाँको ‘सुनिता टेलरिङ’ सिलाइकटाइ पसलमा अहिले पाँच महिलाले सिलाइसम्बन्धी रोजगारी पाएका छन् । पसलमा सिलाइको सीप र काम पाउँदा मासिक कम्तीमा रु १० हजारसम्म कमाइ हुने गरेको पुथ्वीपुर गाविसका बालकुमारी चौधरी बताउनुहुन्छ ।

मुक्तिपछिका दिनमा प्रशिक्षार्थी र त्यसपछि प्रशिक्षक भएर सीपमूलक तालिमको नेतृत्व लिएका उहाँले यस अवधिमा करिब २५० भन्दा बढी मुक्तकमैयाका महिलालाई सीप सिकाउनु भएको छ । आफूले सिकाएकामध्ये धेरैले सीपको व्यावहारिक रुपमा प्रयोग गरी सिलाइकटाइसम्बन्धी पसल थापेको देख्दा आफ्नो समाजमा इज्जत र सम्मान बढेको ठगनीले सुनाउनुभयो ।

दरख गाविसको एक जमिनदारको घरबाट मुक्त भएका पूर्वकमैया लक्ष्मी चौधरी धनगढीमा मोटरसाइकल मर्मत पसल चलाएर मनग्य आम्दानी गर्दैआउनुभएको छ । “मोटरसाइकल मर्मतसम्बन्धी व्यवसायको कमाइले आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ ।

आँट साहसकै कारण व्यावसायिक सफलता पाइरहेका ठगनी र लक्ष्मी मुक्तकमैया समुदायका लागि प्रतिनिधि पात्र हुन् । मुक्तकमैया परिवारका अधिकांश महिला र पुरुष तालिमपछि सीप र क्षमताको उपयोग गरी अहिले सहज रुपमा जीवनयापन गरिरहनुभएको छ । जिल्ला भूमिसुधार कार्यालयका अनुसार दुई दशकयता जिल्लाका चार हजार २७६ मुक्तकमैयालाई ३९ प्रकारका तालिम प्रदान गरिएको छ ।

मुक्तकमैयाले पूर्वाधार निर्माणको काममा नेतृत्व गर्दै आएका छन् ।” मुक्तिपछि कार्यालयले डकर्मी, सिकर्मी, सिलाइकटाइ, बैल्डिङ, ड्राइभिङ, रोडियो टिभी मर्मत, बाख्रा, बङ्गुरपालन, हेयर कटिङ, तरकारीखेती, ट्युबबेल जडानलगायत तालिम प्रदान गर्ने गरेको छ ।

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेको कमैया प्रथालाई तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयामुक्तिको घोषणा गरेको थियो । मुक्तिपछि सरकारले पुनःस्थापनका कार्यक्रम अघि बढाएकोमा कैलालीमा सबै पूर्वकमैयाको पुनःस्थापना हुन सकेको छैन ।

सहजरुपमा एैलानी पर्ति जग्गा उपलब्ध हुन नसक्दा समयमै सबैको पुनःस्थापना हुन नसकेको भूमिसुधार अधिकारी लक्ष्मण कठायत बताउनुहुन्छ । जिल्लामा अझै एक हजार ४०० परिवारको पुनःस्थापना हुन बाँकी रहेको छ ।


तपाईको प्रतिक्रिया

Loading...

Loading...