काठमाडौंका हलमा तेस्रोपटक अचानक - Etajakhabar

काठमाडौं – कहिलेकाहीँ फिल्मी दुनियाँका खबर आउँछन्, फिल्मले हल पाएनन् । पाएकै खण्डमा पनि पहिलो दिनमै हलबाट उत्रिएका नेपाली फिल्मको खबर पनि अनौठो होइन । तर, यस्ता समाचार आइरहेको यही समयमा पनि राजधानीका हलमा तेस्रोपटक फिल्म चलाइँदै छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । हो, अहिले तेस्रोपटक राजधानीका गुण, गोपी, बराहीलगायत हलमा शुक्रबारदेखि ‘अचानक’ फिल्म प्रदर्शनमा छ ।

सरोज शर्माले निर्माण गरेको यो फिल्म अत्यन्त सफल वा डिमान्ड बढेकाले तेस्रोपटक देखाइएको भने होइन । देशभक्त खनालको लेखन र निर्देशनमा बनेको यो फिल्म पहिलोपटक ०६८ सालमा प्रदर्शन गरिएको थियो । त्यतिवेला सरोजले गुण हलमा आफ्नो फिल्मले ‘५१ दिन’ मनाएको भन्दै पार्टी पनि दिए । नयाँ पत्रिकाले छापेको छ ।

गत वर्ष पनि ‘अचानक’ राजधानीलगायत मोफसलका हलमा पनि पुनः प्रदर्शन गरियो । यसपटक चाहिँ शुक्रबार फिल्म ‘भ्रम’ मात्र प्रदर्शनमा आएको र हललाई फिल्म आवश्यक भएकाले ‘अचानक’ चलाइएको सरोजले बताएका छन् । निखिल उप्रेती, जेसिका खड्का, गौरी मल्ललगायतले अभिनय गरेको फिल्मले व्यापार पनि राम्रै गरिरहेको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया