बहराइनमा जेलमा भएको झडप र हत्या सुरक्षाको कमजोरीका कारण बढी दुर्घटना – Etajakhabar

मनिला, २५ पुस-
बहराइनमा केही समयअघि जेलमा भएको झडप र हत्या सुरक्षाको कमजोरीका कारण भएको पाइएको छ ।


गएको डिसेम्बर ३१ मा त्यहाँ भएको झडपमा परी एकजना प्रहरी अधिकारीको हत्या भएको थियो भने १० जना कैदी भागेका थिए ।

भाग्ने कैदी विगतमा आतङ्ककारी कार्यमा सम्लग्न रहेका थिए । उनीहरूलाई गम्भीर आतङ्ककारी क्रियाकलापमा सम्लग्न रहेको आरोपमा आजन्म कैदको सजाय दिइएको थियो ।

प्रहरीमाथि गोली प्रहार गर्ने र ती कैदी भाग्ने क्रम एकै पटक हुन पुगेकोले उक्त जेलमा बाहिरबाट हमला भएको पनि हुनसक्ने अनुमान गरिएको छ ।

भाग्ने कैदीको हुलिया प्रहरीले सार्वजनिक गरेको छ । साथै उनीहरूलाई पक्राउ गर्न व्यापक प्रहरी सक्रियता बढाएको जानकारी पनि प्रहरीले दिएको छ ।

उक्त घटनापछि यहाँको गृह मन्त्रालयले एक अनुसन्धान टोली गठन गरेको थियो । सो टोलीले एक हप्ताभन्दा लामो समय लगाएर गरेको अनुसन्धानबाट यो तथ्य बाहिर आएको बताइएको छ ।

जेल तोड्ने काममा सघाउनेमा सम्लग्न रहेको आशङ्कामा जेलभित्र र बाहिरका गरी केही व्यक्तिलाई अनुसन्धानमा लिइएको छ । तीमध्ये अधिकांशको सम्लग्नता पनि पाइएको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयको सो छानबिन टोलीले सो जेलमा गम्भीर आपराधिक क्रियाकलापमा सम्लग्न आतङ्ककारीलाई राखिएको सूचनाको आधारमा आक्रमण गरिएको हुनसक्ने अनुमान पनि गरेको छ ।


तपाईको प्रतिक्रिया

Loading...

Loading...