निर्धारित समयभन्दा करिब छ महिनापछि ललितकलाको सातौँ प्रज्ञा–सभा – Etajakhabar

काठमाडौँ, २५ पुस–
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लामो समयदेखि बस्न नसकेको सातौँ प्रज्ञा–सभा अाइतबार बसेको छ । प्रतिष्ठानभित्रको आन्तरिक समस्याले उक्त सभा निर्धारित समयभन्दा करिब छ महिनापछि बसेको हो ।

वरिष्ठ कलाकार शशिविक्रम शाह र उत्तम नेपालीले सभाको संयुक्तरुपमा शुभारम्भ गर्दै नेपाली कला तथा संस्कृतिले अन्तर्राष्ट्रिय तहमा विशिष्ट पहिचान बनाएको र त्यसको संरक्षणमा प्रतिष्ठानले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले देशका ग्रामीण भेगमा रहेका कलाकारले सिर्जना गरेका कलालाई राष्ट्रिय तथा विश्व परिवेशमा प्रवद्र्धन गरी प्रतिष्ठानले कलाकारलाई हौसला र प्रेरणा प्रदान गर्नुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले सो संस्थाले देशका विभिन्न स्थानमा नेपाली कलाको विकासका लागि प्रतियोगितात्मक कला कार्यशाला सञ्चालन गरेको जानकारी दिँदै आगामी दिनमा सरोकारवाला पक्षसँग समन्वय गरी संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही प्रतिष्ठानका उपकुलपति शारदा चित्रकारले नेपाली प्राचीन, मौलिक तथा आधुनिक कला क्षेत्रको विकासका लागि प्रतिष्ठानले गर्नुपर्ने विभिन्न गतिविधिका बारेमा छलफल गरी कार्ययोजना सभामा पारित गरिने जानकारी दिनुभयो ।

सभामा सदस्यसचिव नवराज भट्टले प्रस्तुत गर्नुभएको संस्थाको प्रतिवेदनमा छलफल सुरु भएको छ, चालु आवका लागि बजेट पारित र नियम संशोधन समेत गरिने बताइएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

Loading...